Tuesday, April 21News That Matters

एसईई परिक्षा : एकै केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ

पूर्णपुष्टि, चैत्र २३ । अहिले देशैभर एसईई परिक्षा सञ्चालन भईरहेको बेला मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना मावि केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

विहीबार बिहान सामाजिक विषयको परीक्षा दिईरहेका ५२ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले बताए । उनका अनुसार एकै परिक्षा केन्द्रमा यति धेरै नक्कली परिक्षार्थी पक्राउ परेपछि घटनाको बिषयमा छानविन भईरहेको र घटनास्थलमा प्रहरीसहित शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।

परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले ८ वटा विद्यालयको सेन्टर परेकोले नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको बताएका छन् । उनका अनुसार परीक्षार्थीको प्रवेश पत्रको फोटोमा शंकालागी जन्ममिति सोध्दा भन्न नसकेपछि केरकार गर्दा नक्कली परीक्षार्थी रहेको खुलेको थियो । ११ वटा कोठमा परीक्षा भइरहेको मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी फेला परेका हुन् ।