
पूर्णपुष्टि, बैशाख ७ । एसिसि प्रिमियर कपमा आज नेपालले युएईसँग सेमिफाईनल खेल खैल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।
ओमानमा जारी प्रतियोगिताको समुह चरणको खेलमा नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समुह विजेता बन्दै सेमिफाईनल पुगेको हो । त्यस्तै युएई भने ४ खेलमा ३ मा जित र १ हार सहित ६ अंकका साथ समुह उपविजेता बनेसँगै नेपालसगँ सेमिफाईनलमा खेल्ने भएको हो ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग युएई ९ विकेटले हारेको थियो ।
प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेल आज हङकङ र ओमानबीच हुनेछ । प्रतियोगिताको फाइनल आइतबार र तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।
