
पूर्णपुष्टि,फागुन ६ । कटारीको एक होटलमा शनिवार बिहान आगलागी भएको छ । कटारी नगरपालिका ३,मा अवस्थित बजारको मुख्य चोक भूगोलपार्क नजिकै रहेको हिमगंगा होटलमा आगलागि भएको हो ।
स्थानीय कमल साहले संञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा ५ लाख बारावरको क्षती भएको स्थानीय वडाअध्यक्ष पुष्कर खड्काले बताउनुभयो । उनका अनुसार बिहान पख भएको कारण आगलागी तत्काल नियन्त्रणमा लिएको बताउनुभयो ।
होटलको काउण्टरबाट सुरु भएको आगलागिले फ्रिज लगायतका सामग्री जलेर नस्ट भएको होटल संञ्चालक साहले बताउनु भयो । बजारको मध्यभागबाटै सुरु भएको आगलागी कटारी नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयले तत्काल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । उनका अनुसार आगलागीलाई तत्काल नियन्त्रणमा ल्याउँदा ठूलो क्षति भएन । बजारकै मूख्य भागमा रहेको होटलबाट भएको आगलागी तत्काल नियन्त्रणमा ल्याउन नसकेको भए बजार क्षेत्रमा ठुलो जनधनको क्षती हुन सक्ने प्रहरीको अनुमान छ ।
