
पूर्णपुष्टि/उदयपुर, असार ९ ।
कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । हिजाे १७ औँ नगरसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगरपालिकाले संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मौज्दात रकमलाई बजेटको प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छ। बजेटमा युवालाई उद्यमशीलतामा जोड्न ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम, सूचना प्रविधि विस्तार तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना समावेश गरिएको छ।
स्वास्थ्यतर्फ आयुर्वेद सेवाको स्तरोन्नति गरी आयुर्वेद अस्पताल सञ्चालन गर्ने तथा वडा नं। ११ गहुँबारीमा पाँच शैय्याको नगर अस्पताल स्थापना गर्ने तयारी गरिएको छ। पूर्वाधार विकासअन्तर्गत महाभारत क्षेत्रका वडा नं। ९, १० र १३ मा बाह्रैमासे सडक निर्माण, कटारी बहुउद्देश्यीय पार्क सम्पन्न गर्ने र बसपार्कलाई आधुनिक टर्मिनलका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
नगरपालिकाले अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने, विद्यालय भवन निर्माण, सिँचाइ, खानेपानी, वैकल्पिक ऊर्जा तथा नदी नियन्त्रणका कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। साथै सुशासन, कर्मचारी क्षमता विकास, राजस्व वृद्धि, सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
