Wednesday, June 17News That Matters

कटारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पूर्णपुष्टि,माघ २३ । उदयपुरको कटारी नगरपालिकामा आज देखि दोस्रो नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । नगरपालिकाको आयोजनामा श्री त्रिवेणी मावि कटारी, ४को त्रिवेणी मावि तथा टाईगर फिल्डमा खेलकुद प्रतियोगिता सुरु भएको हो ।

अन्तर विद्यालय स्थानीय तह स्तरीय प्रतियोगिताको उदघाटन गर्दै प्रदेश नम्बर १ का सदस्य रामकुमार खत्रीले गर्नुभएको थियो । प्रदेश १का सदस्य खत्रीले उदघाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “राम्रा खेलाडीहरुलाई राज्यले लगानी गर्न नसक्दा पलायन हुनु परेको अवस्था छ ।”खत्रीले भन्नुभयो –“राज्यतहबाट खेलक्षेत्रमा लगानि गर्न म प्रतिवद्ध छु ।”

आयोजकका अनुसार प्रतियोगिता लगातार तीन दिनसम्म चल्ने बताएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १८ सामुदायिक तथा नीजि विद्यालयहरुले प्रत्यक्ष सहभागिता जनाउने नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले बताउनुभयो । कार्कीका अनुसार बिभिन्न विधामा प्रतिश्पर्धी छात्र तथा छात्राहरुले प्रतिष्पर्धा गर्नेछन् । बिभिन्न बिधा अन्तरगत भलिवल,कवड्डी,एथलेटिक्स,मार्सल आर्ट र ऐच्छिक तर्फ रग्वी रहेको छ ।

कार्यक्रममा कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ, उप–प्रमुख गीता खड्का नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती लगायत वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उदघाटन समारोह त्रिवेणी माविका शिक्षक सागर थापाले संञ्चालन गर्नुभएको थियो ।