Monday, April 20News That Matters

कतारका अमिर आज नेपाल आउँदै, देशैभर सार्वजनिक बिदा

पूर्णपुटि, बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउदैँ छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् ।

दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । थानिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न स्वयं राष्ट्रपती पौडेल जाने राष्ट्रपतिको कार्यालयले जनाएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै आज देशैभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गरेको छ । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल र कतारबिच हुने विभिन्न विषयका समझदारी पत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।