
पूर्णपुष्टि, असार २२ । नेपाली कांग्रेसको संसदीय दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको आलोपालो सरकार नेतृत्वको सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ।
शनिबार बसेको बैठकले १७ असारमा भएको यस सहमतिलाई स्वागत गर्दै राष्ट्रिय हित, भ्रष्टाचार नियन्त्रण, विकास र राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्य रहेको जनाएको छ। सहमति अनुसार पहिलो पटक ओली र दोस्रो पटक देउवाले सरकारको नेतृत्व गर्ने छन्।
कांग्रेसले २८ असारमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। यसैबीच, अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै कांग्रेसले नागरिकको जीवन सहज बनाउन सरकारलाई आग्रह गरेको छ।
