
पूर्णपुष्टि, कार्तिक १० । खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने करिब १०७ किलोमिटर लामो मुन्दुम ट्रेल पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा परेको यो पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौं लगानी भइरहेको छ ।
खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो पदमार्ग किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । तावाभञ्ज्याङबाट सुरु भएर टेम्केडाँडा, मैयुङ, साल्पापोखरी हुँदै सिलिचुङसम्म पुग्ने यो पदमार्ग पूरा गर्न विदेशीलाई १३ दिन र नेपालीलाई १० दिन लाग्छ ।
पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू देख्न सकिन्छ। यहाँ ठूला घाँसेमैदान, फराकिला चौरीखर्क, भेडीगोठका साथै घोडचढी सुविधा पनि उपलब्ध छ । विभिन्न प्रजातिका गुराँस, चाँप, कटुस, जडीबुटी, चराचुरुङ्गी र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।
पर्यटकको चहलपहल बढेसँगै स्थानीयले होमस्टे र गोठस्टेको व्यवस्था गरेका छन् । स्वीस सरकारसहित तीन तहका सरकारको लगानीमा पदमार्गको स्तरोन्नति भइरहेको छ । करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी चार वर्षभित्र सबै काम पूरा गर्ने योजना रहेको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए ।
