
पूर्णपुष्टि, असोज ११ गते ।
धनुषामा कोदालो प्रहराबाट श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको मिथिलाबिहारी नगरपालिका–ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या गरेको अभियोगमा उनकै श्रीमान पक्राउ परेको हो । प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको छ ।
जीवछी देवीको शव बाँस झाडीमा फेला परेको थियो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ ।
रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
खेतमै उनीहरुबीच बाँकी ऋण कसरी तिर्ने भन्ने विषयमा कुराकानी भएको प्रहरीको भनाइ छ । त्यसै क्रममा विवाद हुँदा जीवछी देवीले श्रीमान रामालाई अश्लील गाली गलौज गरेको र रामाले आवेशमा कोदालोले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुको भनाइ छ ।
हत्या पश्चात शंका नलागोस भनेर रामाले श्रीमतीले लगाएको चुरा आफैं फुटाएर घटनास्थलमा यत्रतत्र छरेको, कोदालो अर्काको खेतमा फालेर भागेको खुलेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्दैजाँ दा हत्या गर्न प्रयोग भएको कोदालो घटनास्थलबाट करिब ८० मिटर उत्तर पश्चिमको कुनामा खेतमा फेला परेको छ । रामामाथि थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।
