Sunday, June 28News That Matters

कोरोना संक्रमणको सावधानी अपनाउन दुतावासको आग्रह

पूर्णपुष्टि, फागुन १८ गते । 

चिनबाट फैलिएका कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन विभिन्न देशमा रहेका नेपाली दुतावासहरुले सुचना जारी गरेको छ । कोरिया, अमेरिका, युरोप हुँदै खाडी मुलुकहरुमा तिब्र रुपले कोरोना भाईरसको संक्रमण फैलिदै गएकापछि आफ्नो देशका नागरीकहरुलाई सर्तक र सुरक्षित रहन दुतावासहरुले सुचना जारी गरेको हो ।

कुवेत र बहराइनमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित उक्त देशमा रहेका नेपालीलाई सर्तक र सुरक्षित रहन आग्रह गरेको छ ।

सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता धेरै भिडभाड हुने ठाउँहरुमा सकेसम्म नजान यदि जानु पर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । केहि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको निर्देशन पालना गर्न दूतावासले अनुरोध गरेका छन् ।

खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा संक्रमण देखिएको छ । नेपालीको संख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको संक्रमण फैलिएको छ ।

धेरै संख्यामा नेपाली रहेका देशमा कोरोनाको संक्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जनाइएको छ ।

जुन छलफलबाट कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा हवाई उडान रोक्ने विषयमासमेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ । त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिएका छन् ।