
पूर्णपुष्टि, असोज २४
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र दाङका एक/एक जनाको मृत्यु भएको हो ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।
त्यस्तै दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले जनाएको छ ।
योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुने संख्या १२ पुगेको छ ।

