
पूर्णपुष्टि, असोज २५
कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का ७१ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको राति ९ः५५ बजे मृत्यु र १० बजे महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।
दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको जनाईएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संया २६ पुगेको छ ।

