Saturday, April 18News That Matters

कोलकाता जाने झन्झट टर्यो

भदौ ९ गते ।

नेपालबाट निर्यात गर्ने कृषीजन्य बस्तुको गुणस्तर परीक्षण गर्न भारत जानु पर्ने झन्झट सरकारले हटाएको छ । नेपाल –भारत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विच भएको प्रारम्भिक समझदारीले झन्झट हटाएको हो ।

भारत निर्यातमा अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषिजन्य वस्तुको गुणस्तर परीक्षणका लागि भारत जानु नपर्ने भएको छ । यस सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुमा फाइदा हुनेछ ।

सम्झौता पूर्णकार्यान्वयनमा आएपछि काठमाडौं सहित विराटनगर, वीरगन्ज र भैरहवामा कृषीजन्य वस्तुको गुणस्तर परीक्षण गरेर भारत निर्यात गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाअनुसार शंका लागेका वस्तुहरुको परीक्षणका लागि भने दुवै देशलाई पुनः जाँचको सुविधा रहने सम्झौतामा उल्लेख छ ।

नेपालले निर्यातजन्य २६ प्रकारका खाद्य वस्तु, तरकारी, फलफूलमा समझदारी गर्न भारतसँग प्रस्ताव गरेको थियो । तर भारतीय पक्षले २१ प्रकारका नेपाली उत्पादनमा सहमत भएको वाणिज्य मन्त्रालयले जनाएको छ । यसमा चिया, कफी, जुस, जाम, फलफूल, बेसार, तरकारी, प्रशोधित मह, अलैंची, अदुवा, जडीबुटी, दूध, पाउडर दूध, प्रशोधित मासु, अचार, आईसक्रिम लगायत वस्तु छन् ।

अन्तर्रा्ष्ट्रिय मापदण्डका आधारमा दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिमा उल्लेख छ । दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिले आयात, निर्यात व्यापारमा सहज हुने वाणिज्य मन्त्रालयको अपेक्षा रहेको छ ।