
पूर्णपुष्टि सम्वाददाता/ विराटनगर, जेठ २८
“डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता” भन्ने मूल नाराका साथ कोशी प्रदेश युवा सम्मेलन–२०२६ आजदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङवा चेम्जोङ, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैरसरकारी संस्था महासंघ नेपाल का केन्द्रीय उपमहासचिव किरण थापा तथा युवा अभियान नेपाल की महासचिव सुस्मिता यादव को विशेष उपस्थिति रहेको थियो।
सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। युवाहरूमा डिजिटल साक्षरता, नागरिक सहभागिता, नेतृत्व विकास, नवप्रवर्तन तथा डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
सिभिकस को सहकार्य तथा युरोपियन युनियन को आर्थिक सहयोगमा आयोजित सम्मेलनले युवाहरूलाई अनुभव आदान–प्रदान, नवीन सोच प्रस्तुत गर्ने तथा डिजिटल युगका अवसर र चुनौतीबारे गहन छलफल गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री रामप्रसाद महतोले राष्ट्र निर्माण, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले युवाहरूलाई सिर्जनशील, जिम्मेवार तथा नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न विषयगत प्रस्तुति, अन्तरक्रिया, समूह छलफल तथा अनुभव आदान–प्रदानका कार्यक्रम समावेश गरिएका छन्। युवाको नेतृत्व विकास, डिजिटल अधिकार, नागरिक सहभागिता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा नयाँ सोच र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित सम्मेलन सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
