
पूर्णपुष्टि, साउन ११ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ। शुक्रबार पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएपछि माओवादी केन्द्र बाहिरिएको हो ।
माओवादी केन्द्रका तर्फबाट गणेश उप्रेती (भौतिक पूर्वाधार), राजेन्द्र कार्की (स्वास्थ्य), नारायण बुर्जामगर (पर्यटन, वन तथा वातावरण) मन्त्री र बन्दना झागड (वन, पर्यटन तथा वातावरण राज्यमन्त्री) ले पदबाट राजीनामा दिएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेका बताएका छन्। तर मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाड्ने निर्णय गरिएको उनले जानकारी दिए। आङ्बोले सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज उठाउने प्रतिबद्धता जनाए। उनले समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि मात्र निर्णय गरिने बताए।
