Wednesday, April 29News That Matters

कोशी प्रदेशका दुई मन्त्रालयले उठाए १९ करोड बढी बेरुजु

पूर्णपुष्टि, चैत्र २७ । कोशी प्रदेशका दुई मन्त्रालयले पछिल्लो ६ महिनामा १९ करोड बढी बेरुजु उठाएका छन् । भूपेन्द्र राईको नेतृत्वमा रहेका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले बेरुजु असुलीलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले ६ महिनाको अवधिमा ५३ लाख एक हजार १२ रुपैयाँ बेरुजु उठाएको छ । मन्त्रालयको विवरण अनुसार असुल गर्नुपर्ने कुल २ करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये उक्त रकम असुल भएको हो । अब १ करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको छ । यसैगरी मन्त्रालयले नियमित गर्नुपर्ने ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजुमध्ये १३ करोड ८५ लाख २३ हजार रुपैयाँ नियमित गरेको जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सोही अवधिमा १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । आर्थिक वर्ष २०८०र८१ सम्ममा उक्त मन्त्रालय र मातहतका १२ वटा कार्यालयको कुल बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ रहेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ रहेकोमा ६ महिनाको अवधिमा २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको छ । मन्त्री राईले चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै मन्त्रालयले उठाउनुपर्ने सबै बेरुजु असुल गर्ने लक्ष्य राखेको जानकारी दिएका छन् ।