
पूर्णपुष्टि, असोज १६ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका ९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । आज बिहान जारी गरिएको सूचना अनुसार ताप्लेजुङ संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार ठूला नदीहरूमा बाढीको खतरा नभए पनि साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । कन्काई नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने भएकोले नदी किनार क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ । कोशी लगायत अन्य ठूला नदीहरूको जलसतह भने सामान्य घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । साथै भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर लगायतका जिल्लाका साना नदीहरूको बहाव बढ्न सक्ने भएकोले यी क्षेत्रमा पनि सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।

