
पूर्णपुष्टि, असोज १२ । कोशी प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । प्रहरीका अनुसार यस प्राकृतिक प्रकोपमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले पाँचथरमा चार र धनकुटामा एक जनाको मृत्यु भएको जानकारी दिए । पाँचथरमा पहिरोले घर पुरिँदा आमा-छोरीसहित तीन जनाको मृत्यु भएको छ भने एक जना फुरुङ्गा हाइड्रो पावरमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिकामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ । यसैगरी, पाँचथरमा चार जना, झापामा तीन जना, इलाममा एक जना र मोरङमा एक जना गरी कुल नौ जना बेपत्ता भएका छन् । प्रहरीले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।
