
पूर्णपुष्टि, भाद्र ३० । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावसँगै देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र पश्चिम बंगाल तथा आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको विभागले जानकारी दिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
विशेष सावधानीका लागि, विभागले कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने जनाएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ। विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले त्यहाँका बासिन्दालाई सतर्क रहन विभागले अनुरोध गरेको छ।
