
पूर्णपुष्टि, असोज १२ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाडे सोखुमा शनिबार राति गएको पहिरोले एक घर बगाएको छ भने अर्को एक घर ढलेको छ । गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईका अनुसार निरन्तरको वर्षापछि गएको पहिरोले शान्तिकला राईको घर बगाएको र कालीमाया घिमिरेको घर पूर्ण रूपमा ढलेको छ ।
१५० घरपरिवार रहेको सोखुमा पहिरोका कारण अन्य ५ परिवार पनि विस्थापित भएका छन् । विस्थापित हुनेमा भैरब कार्की, ज्ञान बहादुर, चेतनाथ घिमिरे, बाबुराम कार्की र भूपराज कार्कीको परिवार रहेका छन् । अध्यक्ष राईले भने, “घरमा खाना खाइरहेको बेला पहिरो आएको थाहा पाउने बित्तिकै गाउँलेहरू ज्यान बचाउन घर छोडेर सुरक्षित स्थानतर्फ गए । त्यसैले कुनै मानवीय क्षति भएको छैन ।”
गाउँपालिकाले पीडित परिवारहरूलाई गाउँपालिका कार्यविधि अनुसार प्रति परिवार २० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने तयारी गरेको छ । साथै, लत्ताकपडा, खाद्यान्न, त्रिपाल र भाँडाबर्तन पनि उपलब्ध गराउने तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले थप मानवीय क्षति हुन नदिन बस्तीका सबैलाई उद्धार गर्न हेलिकप्टरको माग गरिएको पनि उनले बताए ।
