Friday, May 22News That Matters

गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त दुई बर्षपछी पक्राउ

पूर्णपुष्टि, भदौ १८
गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्तलाई दुई बर्षपछी रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–७ का ३६ वर्षीय काशीराम मुराउ रहेका छन् ।काशीरामले २०७७ माघ १० गते जंगलमा गुल्मी अर्खवाङ–२ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

मरासिनीका अनुसार दिउँसो घाँस काट्न फायरलाइन जंगलमा गएका स्थानीयले एक गर्भवती महिला मृत फेला पारेका थिए। पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र शव फेला परेपछि स्थानीयले खबर गरेका थिए । घटनाको खबर पाएपछी प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले त्यहाँ शव कीरा लागेको अवस्थामा फेला पारेको थियो।

काशीराम (प्रेमी) र बसन्ती (प्रेमीका) बीच अतिरिक्त वैवाहिक सम्बन्ध रहेछ, उनले भने, अतिरिक्त वैवाहिक सम्बन्ध भएपछि प्रेमिका गर्भवती भइछन्। गर्भवती भएपछि प्रेमीले जंगलमा प्रेमिकाको हत्या गरेका रहेछन्।

बसन्ती उनका श्रीमान भोला लोहार र दुई छोरीसहित मगरघाटमा बस्दै आएकी थिइन्। २०७३ सालमा उनको काशीरामसँग भेट भएको खुल्न आएको छ। काशीराम लोडर चालक रहेको प्रहरीले जनाएको छ । उनको तीन छोरी र एक छोरा रहेका छन् ।

उनीहरूबिच यौनसम्बन्ध भएको रहेछ, प्रहरी निरीक्षक मरासिनीले भने’ बसन्ती गर्भवती भएपछि दुवै जना २०७७ साल वैशाखको अन्तिम हप्तादेखि कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने ठाउँमा कोठा भाडामा लिई बस्न थालेका थिए।

बुड्डीमा हुँदै सुत्केरीका लागि तयारी गर्न बसन्तीले घिउ र बेसार मगाउन आफ्ना बुबालाई फोन गरेको उनले बताए। त्यति बेला बसन्तीले आफू मुराउसँग रहेको र चैतमा सुत्केरी हुने जानकारी दिएको अनुसन्धानबाट खुल्न आएको मरासिनीले बताए।

काशीरामले गर्भमा रहेको बच्चा फाल्न दबाब दिएका थिए । तर बसन्तीले नमान्दा सोहि कारण उनिहरु बिच झगडा पनि हुन्थ्यो।

आफु गर्भवती भएकै कारण काशिरामले मार्न सक्ने कुरा बसन्तीले आफ्ना एक साथीलाई बताएकी थिइन्। २०७७ पुस अन्तिम हप्तातिर बसन्ती बुटवल गएकी थिइन्। उनलाई लिन काशीराम आफैं बुटवलको फूलबारीसम्म पुगेका थिए।

फूलबारीबाट दुवै जना सालझन्डीसम्म बसमा आएका थिए। काशीरामले सालझन्डीमा लोकल रक्सी र दालमोठ किनेर सालझन्डी बजारमा मानिसहरूले चिन्ने भएकाले नजिकैको जंगलमा गएर रमाइलो गर्ने भनेर बसन्तीलाई लगे।

दिउँसो तीन बजे जंगलमा लगेर काशीरामले बसन्तीलाई मदिरा खुवाएपछी आफैंले लगाएको गलबन्दीले घाँटी कसेर हत्या गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए।

रक्सीको बोतल र बसन्तीले लगाएका चप्पल समेत काशीरामले वाणगंगा नदीमा बगाएर फरार भएको अनुसन्धानबाट खुलेको उनले बताए । काशीरामले हत्या गरेको केही समयपछि बसन्तीका बुबालाई फोन गरी उनी हराएको जानकारी समेत दिएका थिए।

बुबालाई फोन गरी बसन्ती हराएको र प्रहरीलाई समेत खबर गरेकाले केही गर्न नपर्ने भनी विश्वास दिलाएछन्, मरासिनीले भने।कुनै माध्यमबाट बुवाले केही थाहा पाए कि भनेर बुझ्न काशीरामले गत वैशाखमा फेरि बसन्तीका बारेमा केही पत्ता लाग्यो भनेर सोधेका थिए।

बसन्तीको शव फेला परेपछि प्रहरीले उनका बुवाबाट सनाखत गराएको थियो। सोही क्रममा बसन्तीका बुबाले काशीरामले नै आफ्नी छोरीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले थप अनुसन्धान गरी काशीरामलाई पक्राउ गरेको प्रहरी निरीक्षक मरासिनीले बताए। काशीराममाथि ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत रूपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।