
गाईघाट÷पूर्णपुष्टि, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुर जिल्लाको पश्चिमी भागमा रहेको कटारी नगरपालिकाबाटै राहदानी वितरण तथा नवीकरण सेवा उपलब्ध गराउनुपर्ने माग माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटी कटारीले बिहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाउँदै यो माग गरेको हो ।
जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरूले राहदानी बनाउन वा नवीकरण गर्न सदरमुकाम गाइघाट जानुपर्ने बाध्यता रहेको गुनासो छ । यसले सेवाग्राहीहरूलाई आर्थिक रूपमा बोझ थपिनुका साथै समय र श्रम बर्बाद भएको उल्लेख गर्दै कटारीबाटै यो सेवा सञ्चालन गर्न आग्रह गरिएको छ ।
नगर सभापति सुरेन्द्र जयसवाल, जिल्ला सभापति चित्रकुमार कार्कीसहित यस क्षेत्रका रास्वपाका विभिन्न नेताहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा स्थानीय नागरिकहरूको सहजताका लागि यो सेवा अत्यावश्यक रहेको जनाइएको छ । युवा नेता दिलबहादुर (गणेश) थापाले यो समस्या समाधानका लागि क्षेत्रका सबै अभियन्ता र युवाहरू एकजुट भई माग गरिएको जानकारी दिएका छन् ।
त्यसैगरी, रास्वपाको टोलीले उदयपुरको निर्वाचन कार्यालयका अधिकारीलाई भेटेर जिल्लाका दुर्गम र दुरदराज क्षेत्रमा मोबाइल टोली खटाएर मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नुपर्ने माग गरेको छ । दुर्गम क्षेत्रका नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न र सच्याउन धेरै समस्या र कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै मोबाइल टोली मार्फत यो काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
संविधानले प्रत्याभूत गरेको मतदानको अधिकार सुनिश्चित गर्न सबै नागरिकलाई यो सुविधा दिनु राज्यको दायित्व भएको भन्दै विशेष गरी दुर्गम स्थानमा बसोबास गर्ने नागरिकहरूलाई यो अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो माग गरिएको थापाले बताए । दुवै कार्यालयले ज्ञापनपत्र बुझ्दै माथिल्लो निकायमा पठाउने जानकारी गराएका छन् ।

