
पूर्णपुष्टि, साउन १८ । उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेका तीन वटा पेट्रोल पम्पको अनुगमन गरिएको छ। शुक्रबार गुणस्तर तथा नापतौल विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय उदयपुरको संयुक्त टोलीले अनुगमन गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीका अनुसार अनुगमन गरिएका पेट्रोल पम्पहरूमा त्रियुगा नगरपालिका–११ स्थित रियाज पेट्रोल पम्प र एस।के पेट्रोल पम्प तथा त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित उर्जा पेट्रोल पम्प रहेका छन्। अनुगमनको क्रममा सबै पेट्रोल पम्पहरू मापदण्ड अनुसार संचालन भएको पाइएको रेग्मीले जानकारी दिए। उनका अनुसार पेट्रोल पम्पहरूलाई नियम पालना गर्न सचेत पनि गराइएको छ। अनुगमन टोलीका संयोजक रजनिस झाले यस्तो अनुगमनले पेट्रोल पम्पहरूलाई नियमित रूपमा गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गर्ने बताए। उनले भविष्यमा पनि यस्ता अनुगमनहरू निरन्तर रूपमा गरिने जानकारी दिए। 

