
पूर्णपुष्टि, भदौ २३
गाईघाटमा सिभिल प्रहरीको नाममा फटाई गर्ने ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ गाईघाट बसपार्क त्रियुगा पुलमा सिभिल प्रहरी हुँ, भन्दै धम्की दिएर पैसा माग्दै हिडेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका २३ वर्षीय दिनेश खत्री, शिवालयटोल बस्ने २३ वर्षीय अबिनाश कार्की र डिएम गेट बस्ने २५ वर्षीय बिष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतवार करिब ८ बजेको समयमा बसपार्क पुलमा आवत– जावत गर्ने मानिसहरुलाई आफुहरु सिभिल प्रहरी भएको बताउँदै पैसा र अन्य सामानहरु धम्क्याउँदै मागेको प्रहरीले जनाएको छ ।
तपाईहरुको साथमा के छ, भएको पैसा लगायत अन्य सर–सामान हामिलाई दिनुहोस भन्दै शरीर तथा झोला लगायत चेकजाँच गर्ने धम्काउने गरेको भन्ने खबर प्राप्त अनुसार प्रहरीले घटना स्थलबाटै उनिहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
्

