
पूर्णपुष्टि, चैत १५
पर्सामा गुडिरहेको अटोमाथी बाघले आक्रमण गरेको छ । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि शनिबार साँझ करिब साढे ७ बजे बाघले आक्रमण गरेको हो ।
ठोरी गाउँपालिका–२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गर्दा अटो अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । अटो पल्टिए पछि बाघ भारतको जंगलतर्फ गएकाले कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको, छत कुच्चिएको प्रहरीले जनाएको छ । सोही क्रममा पूर्वतर्फबाट आइरहेको प्रहरी गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको प्रहरीले जनाएको छ ।
बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने मुख्य नाका भएको जनाईएको छ ।
