
पूर्णपुष्टि, असोज ९ । चाडपर्व नजिकिँदै गर्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्र ५७,४९३ नेपाली विदेशिएका छन्। यसमध्ये ५०,७७० पुरुष र ६,७२३ महिला रहेका छन्।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै नेपाली युएई (१८,६०५), कतार (११,२९१) र साउदी अरेबिया (१०,८३५) गएका छन्। उल्लेखनीय रूपमा, मलेसिया जाने श्रमिकको संख्यामा भने ठूलो गिरावट आएको छ। भदौमा मात्र १,१९३ श्रमिक मलेसिया गएका छन्, जुन गत वर्षको तुलनामा निकै कम हो।
युरोपेली देशहरूमा पनि नेपाली श्रमिकको संख्या बढेको देखिन्छ। विभागको तथ्यांक अनुसार, रोमानियामा १,८८८, क्रोएसियामा ७०९, र साइप्रसमा ६१२ नेपाली गएका छन्। विदेश जानेमध्ये १३,१७१ अदक्ष श्रमिक छन् भने ३७,७८३ दक्ष श्रमिक रहेका छन्। अर्धदक्ष ६,१७५ जना विदेशिएका छन्।
समाजशास्त्री माधव अधिकारीले चाडपर्वको समयमा युवाहरू विदेशिनु परेको अवस्थालाई चिन्ताजनक बताएका छन्। उनले भने, “चाडपर्वमा टाढा भएका नेपाली पनि घर फर्कने, आफन्ती र परिवारसँग समय बिताउने समय हो। तर, भविष्यको खोजीमा चाडबाडकै बेला परिवारसँग छोडेर विदेशिनु पर्ने अत्यन्त चिन्ताको विषय हो।” वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले मुलुकभित्र रोजगार सिर्जना हुन नसक्दा युवाहरु विदेश जानु पर्ने अवस्था नफेरिएको बताए।
