
पूर्णपुष्टि, असार १ । चीनमा ४ महिनाको उपचार पश्चात नेकपा माओवादी केन्द्रका उपमहासिचव वर्षमान पुन स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् ।
पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
पुनलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदीलगाएतका नेताहरु विमानस्थलमा पुगेका थिए । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो।
उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् । यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।
