Monday, April 20News That Matters

चार वर्षमै एकिकृत समाजवादी तीन टुक्रा

पूर्णपुष्टि, कार्तिक १९ ।  चार वर्षको छोटो राजनीतिक यात्रापछि नेकपा एकीकृत समाजवादी पार्टी अब आफ्नो नामअनुरूप ‘एकीकृत’ रहन सकेन । एमालेबाट अलग भएर सन् २०७८ मा स्थापना भएको यो पार्टी अहिले तीन फरक समूहमा विभाजित भएको छ । प्रत्येक समूहले आआफ्नै बाटो रोजेका छन् ।

पहिलो समूह: नेपालको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीमा

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको बहुमत समूहले माओवादी केन्द्रसहित दश वटा वामपन्थी घटकहरूसँग मिलेर नयाँ पार्टी गठन गर्ने प्रक्रियामा सहभागी भएका छन् । यो समूह नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा आवद्ध भएको छ ।

अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल पनि यस एकता प्रक्रियामा सामेल भएका छन् । त्यस्तै वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र जगन्नाथ खतिवडालगायत प्रभावशाली नेताहरू पनि यस समूहमा छन् । यो समूहले पार्टीको सबैभन्दा ठूलो हिस्सा ओगटेको मानिएको छ ।

दोस्रो समूह: भुसालको क्रान्तिकारी अभियान

महासचिव घनश्याम भुसालले भने एकीकृत समाजवादीलाई नै पुनर्संरचना गरेर नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी गरेका छन् । उनको तर्क छ कि पार्टीको वास्तविक वैचारिक आधार र संगठनात्मक संरचना आफूहरूसँग नै रहेको छ ।

भुसाल समूहलाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायत नेताहरूले समर्थन गरेका छन् । यस समूहले बुधबार नै पत्रकार सम्मेलन आयोजना गरी आगामी मङ्सिर महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ । उनीहरूको योजना क्रान्तिकारी विचारधारामा आधारित नयाँ पार्टी खडा गर्ने रहेको छ ।

तेस्रो समूह: झाँक्रीको अलग्गै यात्रा

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको तेस्रो समूहले पनि आफ्नै बाटो रोजेको छ । सन् २०७८ मा एमाले विभाजन गर्दा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्रीले अहिले भने एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

झाँक्रीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा एकीकृत समाजवादीसँगको सम्बन्ध टुङ्गिएको स्पष्ट रूपमा बताएकी छन् । यद्यपि उनको समूह अहिलेसम्म कुनै पार्टीमा सामेल भएको छैन । तर उनीहरूका सार्वजनिक अभिव्यक्ति र राजनीतिक गतिविधिबाट एमालेमा फर्कने सम्भावना बलियो देखिएको छ ।

नेकपा एकीकृत समाजवादीको स्थापना सन् २०७८ मा भएको थियो । तत्कालीन एमाले नेतृत्वसँग वैचारिक र संगठनात्मक असहमति व्यक्त गर्दै माधव नेपालको नेतृत्वमा ठूलो संख्यामा नेताहरू अलग भएका थिए । त्यसबेला यो विभाजन नेपाली राजनीतिमा ठूलो घटनाको रूपमा चर्चित भएको थियो । तर मात्र चार वर्षपछि नै यो पार्टी आफैं तीन टुक्रामा विभाजित हुन पुग्यो ।