
पूर्णपुष्टि, असोज २३ । भारतको चेन्नईमा भारतीय वायुसेना (आईएएफ) को ९२ औँ वार्षिकोत्सव समारोहमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ ।
कीर्तिमानी १५ लाख मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा अन्य धेरै व्यक्तिहरू घाइते भई अस्पताल भर्ना गरिएको छ । मरीना बिचमा आयोजित प्रदर्शनीमा तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । एनडीटीभीका अनुसार दर्शक क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।
कार्यक्रमस्थलमा पुग्न दर्शकहरूले लामो दूरी पैदल हिँड्नुपरेको थियो। त्यसैगरी, प्रदर्शनीपछि सार्वजनिक यातायात प्रयोग गर्न वा निजी सवारी साधन लिन पनि मानिसहरूलाई जामले भरिएको सडकमा ३ देखि ४ किलोमिटरसम्म हिँड्नुपरेको बताइएको छ । समुद्र तटको वरिपरि भीडले गम्भीर ट्राफिक जाम निम्त्याएको स्थानीय प्रहरीले जनाएको छ ।
