Wednesday, June 17News That Matters

चौदण्डीगढीका अपांग मगरलाई नयाँ घर

पूर्णपुष्टि,जेष्ठ ९ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका ३६ बर्षीय अपांग हिमाल मगरले नयाँ घर पाएका छन् । दुवै खुट्टा गुमाएका मगरलाई चौदण्ढीगढी–७ की समाजसेवी हिरा थापा तिम्सिनाको पहलमा आर्थिक सहयोग जुटाई घर निर्माण गरी सोमबार प्रदेशसभा सदस्य राजन किरातीले चाबी हस्तान्तरण गरेका हुन् ।

उक्त घर निर्माणको लागी ३ लाख ५ हजार २ सय ७७ रुपैयाँ संकलन भएको थियो । संकलित रकममध्ये २ लाख ९७ हजार ९ सय १० रुपैयाँमा ईटा, ट्रस र जस्तापाताबाट दुई कोठे घर सम्पन्न भएको हो । बाँकी रकम मगरलाई नै दिईएको छ ।

उक्त रकम विभिन्न सामाजिक व्यक्तित्व र देशविदेशबाट सहयोग प्राप्त भएको थियो । आर्थिक अवस्था कमजोर रहेको मगरको जटिल घाउको कारण दुवै खुट्टा काटिए । त्यसपछि उनको एक छोरीसँग विचलित थिए । उनकी श्रीमतीको क्यान्सर रोगबाट डेढ वर्ष पहिले नै मृत्यु भईसकेको छ भने उनको ६ वर्षीय छोरालाई २ नं वडामा सानी आमाले पालन पोषण गर्दै आएको बताइएको छ ।

मगरलाई त्यहाँ स्थापित गर्न पूर्व वडा अध्यक्ष देवनारायण चौधरीले ठुलो भुमिका खेलेको स्थानियको भनाई छ । नयाँ घर पाएका मगरले निर्माणकर्ता थापालाई धन्यवाद व्यक्त गरे । थापा नेकपा (माओवादी केन्द्र) चौदण्डीगढी नगर उपाध्यक्षसमेत हुन् । पार्टीका सदस्य तथा अन्य समाजिक व्यक्तित्वहरुको समेत जनश्रमदानमा उक्त घर निर्माण गरिएको नेतृ थापाले जनाईन् ।