
पूर्णपुष्टि,वैशाख ७ । जाजरकोटको निर्माणाधीन मोटरेबल पुल बिहिबार दिउँसो भाँच्चिदा ९ जना गम्भीर घाइते भएको छन् । जाजरकोट–डोक्पा सडक खण्ड अन्तरगत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको इलाका प्रहरी कार्यालय आठविसकोट रूकुम पश्चिमले जनाएको छ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीले बताए । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा लगिएको छ ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो । डोल्पा सडक खण्ड रूकुम र जाजरकोटका विभिन्न भागबाट बनेको छ।
‘पुलको काम गर्दैगर्दा एक्कासी भाँच्चिएको रहेछ, पुलमा माथिपट्टि पाता हाल्दै गरेका ९ जना घाइते भएको भन्ने आएको छ,’ इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीले भने, ‘सबैको अवस्था गम्भीर छ, अस्पताल ल्याइँदै छ।’
घटना भएको ठाउँदेखि जिल्ला सदरमुकाम पुग्न साढे २ घन्टा लाग्ने उनले बताए । काम गरिरहेका उनीहरू सबै नदीमा खसेपछि उद्धार गरिएको सुवेदीले जानकारी दिए।
