
पूर्णपुष्टि,कार्तिक १४
बेनीमा जिप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दुर्घटनामा गम्भिर घाईते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा उनिको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

