
पूर्णपुष्टि, वैशाख २३ गते ।
आउदो जेठ ४ गतेबाट लाइसेन्सको आवेदन दिएकाले १५ दिन भित्रै ट्रायल दिन मिल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाई छ । महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ ।
गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ । विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो । सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ ।
कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन गरेर सकाइसकेको विभागको भनाइ छ ।
अब जम्मा भएको चाप सकेर विभागले नयाँ प्रणाली लागू गर्छ जुन प्रणालीमा विभागले सीमित आवेदन लिन्छ. यसपछि परेका आवेदनको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुला गर्छ। एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ।
’नयाँ प्रणाली लागू भएपछि आवेदन दिएर ट्रायलका लागि दुई तीन वर्ष कुर्नु पर्दैन,’ महानिर्देशक घिमिरेले भने।
कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो ।
