पूर्णपुष्टि, माघ ५ गते । टिकटक लाईभमा जुवा खेलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् ।
टिकटकमार्फत अनलाइन जुवा खेलाउने मल्ललाई मंगलबार काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको भन्ने सुचनाको आधारमा उनलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।
मल्लले ‘क्विक क्यास’ नामको आईडी खोली १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ । दुईवटा इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर जुवा खेलाउने गरेका थिए ।
मल्लको साथबाट प्रहरीले जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम, रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तीन बुक तास बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
