
पूर्णपुष्टि, चैत ७ । कैलालीको जोशीपुर गाउँपालिका–७ को हजारीबारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कौलालीले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।
जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर चालक भजनी नगरपालिका–९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
