Saturday, June 6News That Matters

ट्राफिक प्रहरीद्धारा ९४ लाख ३१ हजार राजस्व संकलन

उदयपुर/भदौ ८ गते ।

आर्थीक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघन गर्ने साना ठूला यातायातबाट अघिल्लो आर्थिक वर्ष भन्दा १२ लाख ४१ हजार ५ सय बढी राजस्व संकलन भएको हो ।

जिल्लाका विभिन्न ठाउँहरुबाट १४ हजार २ सय ९५ सवारी साधन तथा चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । सवै भन्दा बढी ट्राफिक नियम उल्घंन गर्ने यातायात तथा चालक मध्ये टिफर,ट्रक चालक भएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

उक्त सवारी साधन चालकपछि मोटर साइकल चालकले ट्रफिक नियम उल्घंन गरेको कार्यालयको तथ्याङले देखाएको छ । सवैभन्दा बढी आर्थिक वर्षको मसान्त अर्थात असाढ महिनामा १ हजार ३ सय ९५ सवारी कारबाहीमा परेकाबाट ८ लाख ८९ हजार पाँच सय राजश्व उठेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्षको सुरुवात भदौमा ८ सय ५० वटा सवारी साधन कारबाहीमा परेको थियो । त्यसबाट ५ लाख १७ हजार पाँच सय राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक नियम उल्घंन गर्ने एक आर्थिक वर्षमा ३ हजार ९ सय ५६ वटा मोटर साइकल कारबाहीमा परेको थियो । त्यस्तै २ हजार ६ सय २७ जिप, कार, भेन कारबाहीमा परेको तथ्याङमा उल्लेख छ । ७ सय ७५ वटा बस कारबाहीमा परेको थियो भने १ हजार ५ सय ६३ वटा ट्याक्टर पनि कारबाहीमा परेको तथ्याङले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११ हजार ५ सय १४ सवारी साधनले ट्राफिक नियम उल्घन गरी कारबाहीमा परेको थियो । यसबाट ८१ लाख ९१ हजार राजश्व संकलन भएको थियो । यस आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको पुरानो बजार अर्थात सगरमाथाको द्धार तथा शोलु, खोटाङ र ओखलढुङ्गाको नाका भनेर चिनिएको कटारी बजार, घुर्मी, बेलटार, रामपुर, गाईघाट लगायतका ठाउँहरुबाट ट्राफिक नियम उल्घन गरी कारबाहिमा परेको सवारी साधनबाट राजस्व संकलन गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।