Monday, June 8News That Matters

ट्राफिक र प्रशासनको नियमलाई धज्जी उडाउदै यात्रु ओसार पसार

पूर्णपुष्टि/उदयपुर, असोज १० ।
प्र. १–०१–००१ ज ३६१७ नम्बरको सुमो जिप आज यात्रु ओसार्ने हेतुले तिब्रगतिमा कुदाउदा सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–फोक्सिन्टार सडकखण्डको अधेँरीमा नालीमा खस्यो । गाईघाटतर्फ आएको सो गाडीले अबैंधरुपमा यात्रु ओसारपसार गरिरहेको पाएपछि ट्राफिकले आजै विहान जरिवाना काटेर सञ्चालन नगर्न चेतावनी दिएको थियो । चेचिस भाँचिएको सो गाडी वेल्डिङ गरेर चलाएको पाएपछि ट्राफिक कारवाहीमा परेको हो । चेचिस जोडेर चलाइएको गाडी बाङ्गो कुद्ने र दुर्घटनाको उच्च जोखिम हुनेगर्छ । यसैकारण ट्राफिक नियमले चलाउन दिदैन । अर्कोतिर ९ सिटको यात्रु क्षमता रहेकोमा १८ जनासम्म बोकेको पाइएको थियो । ट्राफिकको चेतावनीको वेवास्ता गर्दै पछि यात्रु कोचेर गाईघाटदेखि फोक्सिन्टारतर्फ गएको पाइएको छ ।
अर्को एउटा रातो नम्बर प्लेटको बोलेरोले पछाडि गाँसिएको ट्रलीमा कोचाकोच यात्रु उभ्याएर सल्लेतर्फ लैजादै गर्दा ट्राफिकको फन्दामा परेको छ । बा १८ च ८८९४ नम्बरको उक्त बोलेरोलाई यातायात केही ब्यवसायीले नै अबैंधरुपमा यात्रु चढाएको पाएपछि रोकेर ट्राफिकलाई जिम्मा लगाएको हो ।
लु १ ज १७३१ नम्बरको बोलेरो चेचिस लेल्डिङ गरेर चलाएको, क्षमता भन्दा बढि सिट बढाएर कोचाकोच यात्रु बोकेको फेला पारेपछि ट्राफिकले कारवाही गरेको थियो । प्रशासन र ट्राफिकको आँखा छल्दै यस्ता दर्जनौं गाडीहरु अबैंधरुपमा चल्ने गरेको पाइएको छ । जसले यात्रुको जीवन उच्च जोखिममा परेको छ ।
स्थानीय प्रशासनले यात्रुलाई अनिवार्य टिकट भनेको छ तर त्यस्ता साना सवारी साधन कसैले टिकट काटेको छैन । अवैंधरुपमा सञ्चालनमा छन् । दुर्घटना भएमा यात्रुले क्षतिपूर्ती तथा उपचार दावी गर्न समस्या पर्दछ भने यात्रा पनि उच्च जोखिममा हुने गरेको छ ।
दशैंमा यात्रुको बढ्दो चाँपमा पैसा कमाउने मौका छोप्दै यात्रुको जीवन नै जोखिममा पारेर सञ्चालन गर्ने यस्ता सवारी साधनले ट्राफिक र स्थानीय प्रशासनको निर्णयको धज्जी उडाएको छ । स्थानीय प्रशासनले टिकट अनिवार्य, सवारी साधनले क्षमता भन्दा बढि यात्रु नबोक्ने, मालबाहकले यात्रु नबोक्ने, रातो नम्बर प्लेटको निजि सवारीले यात्रु नबोक्ने, चेचिस भाँचिएर जोडिएका सवारी साधन नचलाउने भनेको छ । साथै महंगो भाडा नलिने, सवारी साधन पुग्ने दुरीसम्मको मात्र भाडा लिने, आफ्नाे सवारी साधन पुग्न नसक्ने ठाउँको भाडा मेलको नाममा लिन नमिल्ने भनेको छ । तर, यी सबैजसो निर्णय र नियम पालना नभएको यातायात ब्यवसायीहरुको भनाई छ । दशैंको मौकामा पैसा कमाउने दाउँमा केही त्यस्ता सवारी साधन ल्याएर दादागिरी शैलीमा सञ्चालन गर्ने गरेको र नियमको उलंघन गर्ने गरेको पाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका ट्राफिक प्रहरी नायव नीरिक्षक दलबहादुर खत्री बढि भाडा लिने, स्वरुप परिवर्तन गर्ने, यात्रु क्षमता बढि बोक्ने लगायतकालाई कारवाही गरिएको बताउनुभयो । यातायात ब्यवस्था कार्यालयसमेतको सवारी साधन चेकजाँच भएको थियो ।
गाईघाटदेखि पहाडी क्षेत्रमा जाने सवारी साधनमा बढिजसो नियम उलंघन गरेको पाइने गरेको छ । स्थानीय प्रशासनले सर्बपक्षीय बैंठक गरी केही दिन अघि यस्ता कार्यलाई रोक्न कडाइका साथ सबै पक्ष लाग्न आग्रह गरिएको थियो । सरोकारवालाहरुले नियम अटेर गरी उलंघन गर्नेलाई जरिवाना मात्रले नभइ कडा कारवाही नै गर्नुपर्ने मात्र प्रशासनसंग राखेका थिए ।