
पूर्णपुष्टि/ ताप्ली, असार ११
उदयपुरको ताप्ली गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै बजेट सार्वजनिक गरेको हो।
गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, आधारभूत सेवाको गुणस्तरीय विस्तार तथा दिगो विकासलाई मुख्य लक्ष्य बनाएको गाउँपालिकाले जनाएको छ। बजेटमार्फत नागरिकको जीवनस्तर उकास्ने, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित बजेट ल्याएको हो। सो नारालाई व्यवहारमा उतार्दै विकास निर्माणका योजनालाई जनमुखी, समावेशी, वातावरणमैत्री र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
बजेटमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार, विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधार, स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण, मातृ तथा बाल स्वास्थ्य कार्यक्रम, कृषि उत्पादन वृद्धि तथा रैथाने बालीको संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ। किसानलाई व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्न विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रमसमेत समावेश गरिएको छ।
त्यसैगरी ग्रामीण सडक स्तरोन्नति, खानेपानी तथा सिंचाइ आयोजना विस्तार, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई पनि बजेटमा महत्वका साथ समेटिएको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रोत्साहन गर्न सीप विकास तालिम तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ।
गाउँपालिकाले प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यसमेत लिएको छ। स्थानीय सम्भावनाको उपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गरिने बताइएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले समग्र विकासलाई गति दिनुका साथै सेवा प्रवाहमा सुधार, उत्पादन वृद्धि र आर्थिक समृद्धिको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
