Monday, August 24News That Matters

ती अबोध छोरीहरू (कविता)

ती अबोध छोरीहरू,
सुन्दर संसारमा फूल्ने सुरमा थिए,
आँखाभरि सपना, ओठभरि मुस्कान लिएर
जीवनको बाटोमा हिँड्ने सुरमा थिए ।

कहाँबाट आउँछन् ती दुष्टहरू,
जो टप्प टिपेर चिचिल्लो मै चिमोट्छन्,
फूलझैँ कोमल ती नानीहरूको सपना
राक्षस रुपी हातले निमोठिदिन्छन् ।

दोष उनीहरूको के थियो र ?
उनीहरू त बस् संसार सुन्दर देख्ने उमेरमा थिए,
तर निर्दयी पापी हातहरूले
उनीहरूको जीवन खोसे, आमाको काख अनि आसु रीत्याईदिए

हे सरकार !
ती अबोध छोरीहरूलाई फूल्न देउ
हाँस्न देउ, सपना देख्न देउ, जीवन देउ
यो संसार छोरीको लागि पनि हो भन्ने आधार देउ
स्वतन्त्रता देउ, सुरक्षाको प्रत्याभुति गर

हे सरकार !
कहिलेसम्म छोरीहरु हिंसा सहनु पर्ने ? कहिले सम्म यौन दुर्ब्यहार सहनु पर्ने ? कहिलेसम्म बलात्कृत हुनु पर्ने ? कहिलेसम्म राक्षसको हातबाट मारिनु पर्ने ?

हे सरकार !
कोहि छोरी बाबुबाट, कोहि छोरी काका दाजु भाईबाट
कोहि छिमेकिबाट, कोहि गुरुबाट, कोहि मामाबाट दुर्ब्यहार, बलात्कृत कहिलेसम्म हुनु पर्ने ? कहिलेसम्म ?

दिनदिनै यस्ता अप्रिय घटना कहिलेसम्म सुन्नुपर्ने ?
कहिलेसम्म देख्नु पर्ने ? कहिलेसम्म भोग्नु पर्ने ?
यस्ता क्रुर अपराध कहिलेसम्म भोग्नु पर्ने ?