Wednesday, June 24News That Matters

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

पूर्णपुष्टि/उदयपुर, असार १०
उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको आय÷ब्याय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार, सशर्त अनुदान ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्वबाट १५ करोड १० लाख ९६ हजार, अन्त शुल्कबाट ६ करोड ४७ लाख ६५ हजार तथा सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
आन्तरिक स्रोत १६ करोड, ५० लाख ६५ हजार र बाँकी रहेको मौज्दात रकम ५ करोड ४९ लाख ८८ हजार ७६२ रुपैयाँ रहेको उल्लेख गरिएको छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, महिला तथा युवा स्वरोजगार, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, वातावरण संरक्षण तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा जनताको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र दिगो विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
सभामा मेयर बसन्त बस्नेतले नगर विकास नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपमेयर महेश्वरी राईले बजेट प्रस्तुत गर्नुभयो । विभिन्न विषयगत समिति र न्यायिक समितिको प्रगति प्रतिवेदनसमेत प्रस्तुत भएको थियो ।
मेयर बस्नेतले चारवर्षअघि निर्वाचित भएर आएदेखिको प्रगतिको संक्षिप्त समिक्षा गर्दै प्रगतिविवरणहरु प्रस्तुत गर्नुभयो । भौतिकपूर्वाधार, खानेपानी, कृषि तथा पशु, रोजगार, राजस्व, न्यायिक प्रगति, स्वास्थ्य, साहशिस खेल तथा पर्यटन प्रवद्र्धनमा उल्लेख्य काम भएको विवरण पेश गर्नुभएको थियो ।