Tuesday, June 16News That Matters

त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित

पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार-१

उदयपुरकाे त्रियुगा नगरपालिका–३ मोतिगडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो ।

नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि मोतिगडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाअनुसार कुल सूचकको ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बालमैत्री वडा घोषणा केवल उपलब्धि नभई कार्यान्वयनको नयाँ चरण भएको बताउनुभयो । उहाँले नगरपालिकाले अन्य वडाहरूलाईसमेत बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाएको जानकारी दिनुभयो ।

“केही अपवादबाहेक जन्मदर्ता, पूर्ण खोप र विद्यालय भर्ना जस्ता कार्यक्रमहरू सफल भएका छन्,” मेयर बस्नेतले भन्नुभयो । उहाँका अनुसार निर्देशिकाले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने व्यवस्था, छ महिनासम्म अनिवार्य स्तनपान तथा पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल उपलब्ध गराउने लगायतका मापदण्ड तय गरेको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलकबहादुर कटवालले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय नीति, कार्यक्रम तथा बजेटमा बालमैत्री अवधारणालाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले चुनौतीपूर्ण सूचकहरू पूरा गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष कटवालका अनुसार चालु आर्थिक वर्षमा बालबालिकामुखी योजना तथा कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गरिएको छ । यद्यपि, वडामा बसोबास गर्ने अल्पसंख्यक मुसहर समुदायका केही बालबालिकालाई विद्यालय भर्ना गराउने प्रयास भने सफल हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

त्यसैगरी पूर्ण खोप सुनिश्चितता, आयोडिनयुक्त नुनको प्रयोग, कुपोषण न्यूनीकरण, सुरक्षित खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाहमुक्त क्षेत्र, बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण तथा दुव्र्यवहारमा कमी आउनुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ।

निर्देशिकाले छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिकाको विद्यालय पहुँच, सडक बालबालिका शून्य अवस्था, बाल सञ्जाल गठन, विद्यालयमा खानेपानी तथा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था, विद्यालय व्यवस्थापन तथा स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

बालमैत्री वडा घोषणा समारोहमा वडामा रहेर सामाजिक उत्तरदायित्व वहन गर्दै महत्वपूर्ण योगदान पुर्‍याउने केशव राई, मीनबहादुर ज्यू ठकुरी, पूर्व वडा अध्यक्ष अवदेशप्रसाद चौधरी, शंकर लेखी, रामसेवक चौधरी, चुडामणि पोखरेल, सारदाप्रसाद भट्टराई र ईश्वरी भट्टराईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी न्यून पारिश्रमिकका बाबजुद समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविका सीता बस्नेत, शर्मिला खतिवडा, रम्भा चौधरी, सकुन्तला चौधरी र जमुना बती चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्ने अभियानअन्तर्गत मोतिगडालाई बालमैत्री वडा घोषणा गरिनु बालबालिकाको समग्र विकास र संरक्षणतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।