
पूर्णपुष्टि सम्बाददाता
उदयपुर, भदौ २२ गते ।
समाज रूपान्तरणका लागि स्थानीय सरकार र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनुभएको छ । ‘समाज रूपान्तरणका लागि नागरिक समाज’ भन्ने मूल नाराका साथ त्रियुगा नागरिक सरोकार समिति, मोहनपुरको आयोजनामा हिजो सम्पन्न ‘विकास निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा मेयर बस्नेतले उक्त कुरा बताउनु भएको हो । कार्यक्रम त्रियुगा नगरपालिका–६ मोहनपुर चोकमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख बस्नेतले विकास निर्माणका काममा स्थानीय सरकार र नागरिक समाजबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितमा काम गर्न सके मात्रै समाज रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो ।
मोहनपुर क्षेत्रको समग्र विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख बस्नेतले नदी तथा खहरे नियन्त्रणलगायत स्थानीयका विकाससम्बन्धी आवश्यकतामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उहाँले त्रियुगा नगरपालिका–६ मा रहेको उदयपुर सिमेन्ट उद्योगलाई संरक्षण गर्दै सार्वजनिक–निजी साझेदारी थ्रीपी मोडलमा सञ्चालन गर्न वडावासीले पहल गर्नुपर्ने धारणासमेत राख्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष योगेन्द्र दाहाल र वडा सदस्य प्रवेश खड्काले मोहनपुर क्षेत्रको विकासमा वडा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । स्थानीय आवश्यकताका आधारमा विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मधुकर थापाले मोहनपुर गाउँलगायत सम्भावित क्षेत्रलाई नगरपालिकाले ‘कृषि गाउँ’ घोषणा गर्नुपर्ने माग राख्नुभयो । उहाँले मोहनपुर चोकमा साप्ताहिक कृषि हाटबजार सञ्चालनका लागि नगर तथा वडा कार्यालयले सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी त्रियुगा नदी तथा खहरे नियन्त्रण, नदी उकास जमिनको संरक्षण तथा व्यवस्थापन, खानेपानी, वन र विद्यालयका समस्यालगायत विषयमा पनि उहाँले स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नदी उकास क्षेत्रको नम्बरीबाहेकको जमिनको किनबेचमा रोक लगाई त्यस्ता जग्गाको अवस्थाबारे सार्वजनिक जानकारी गराउनुपर्ने मागसमेत कार्यक्रममा उठाइएको थियो ।
कार्यक्रममा उदयपुर सिमेन्ट उद्योगको संरक्षण र पुनः सञ्चालनका लागि थ्रीपी वा पिसिए मोडलमा लैजानुपर्ने विषयमा समेत छलफल भएको थियो । त्रियुगा नागरिक सरोकार समितिका अध्यक्ष उद्दव राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव सन्तोष खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
