
पूर्णपुष्टि, वैशाख १५ गते ।
उदयपुरको त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । त्रियुगा नगरपालिकाको प्रमुखका लागि १३ जना र उप–प्रमुखका लागि ११ जनाको मनोनयन परेपनि कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच तीब्र प्रतिस्पर्धा हुने नेता कार्यक्रर्ताले नै बनाउने गरेका छन् । त्रियुगा नगरको प्रमुखका लागि दुई दलिय गठबन्धनबाट एकिकृत समाजवादीका बलदेव चौधरीले उम्मेदवारी दिएका छन् । उनी निर्वतमान मेयर समेत हुन् । उनले अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका थिए । चौधरी त्रियुगाको मेयर हुँदा आफूले जनताको चाहना बमोजिम काम गरेकोले फेरी पनि बिजय हुनेमा ढुक्क छन् । उझ आफू त्रियुगालाई उपमहानगर बनाउने उद्देश्यका साथ अगाडी बढेकाले जनताले आफूलाई फेरी चुन्नेमा ढुक्क छन् ।
यस्तै, गठबन्धनको उपमेयरकी उम्मेदवार गिता खड्का कार्की पनि माओवादीको संगठनमा भिजेकी नेतृ हुन् । उनी यसअघिको निर्वाचनमा उप–मेयरमै पराजीत भएपनि निरन्तर जनतासँगै रहेर स्थानीय राजनीति गरेकोले जित्नेमा ढुक्क छिन् । उनी उदयपुरका महिलामा लोकप्रिय नेतृ हुन् ।
त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा वसन्त बस्नेत र उप–प्रमुखमा सरिता राई उम्मेद्दार छन् । बस्नेत अघिल्लो चुनावमा चौधरीसंग झिनो (७३ )मत अन्तरले पराजित भएका थिए । उनी नेपाली कांग्रेसभित्रका लोकप्रिय नेता हुन् । अघिल्लो चुनावमा थोरै मतअन्तरले पराजित भएपनि जनतासंग नजिक रहेकोले चुनाव जित्ने दाबी गरेका छन् । नेपाली काङ्ग्रेस भित्रको संस्थापन इतर पक्षमा रहेका वस्नेतले पार्टी भित्रको आन्तरीक बिबाद व्यवस्थापनमा भने बढी समय खर्चनुपर्ने देखिन्छ । यस्तै यो पार्टीबाट उपमेयरको उम्मेदवार रहेकी सरिता राई भने मतदानका लागि नया अनुहार हुन् ।
त्रियुगाको प्रमुखका लागि एमालेले भागवत राउत र उप–प्रमुखमा महेश्वरी राईलाई उम्मेदवार बनाएको छ । राउत एमालेभित्रका लोकप्रिय नेता हुन् । नगरमा हुने धार्मिक कार्यक्रममा बढी सक्रिय हुने भएकाले धर्मप्रति बढी आस्थावान मतदाताको को रुझान उनिप्रती हुनसक्छ । मतदातामा सजिलै भिज्न सक्ने उम्मेदवार भएपनि एमाले विभाजन भएकाले त्यसको असर भागबत राउतलाइ पनि पर्न सक्ने देखिन्छ । एमालेकी उप–मेयरकी
उम्मेदवारी राई एन.जी.ओ. कर्मी हुन् । उनी गैर सरकारी महासंघको केन्द्रीय सचिव पनि हुन् । राजनीतिमा समेत सक्रिय रहेकाले जनताले आफूलाई पत्याउनेमा उनी ढुक्क छिन् ।
उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी–समाजबादीको दुई दलिय गठबन्धनको सांगठनिक उपस्थिती बलियो रहेको छ। कुन दलले त्रीयुगामा स्थानीय सरकार बनाउछ भनेर भनिहाल्न सक्ने स्थिति छैन । यी दलहरुले चयन गरेका सबै उम्मेदवार लोकप्रिय समेत रहेकाले यो नगरमा त्रीपक्षीय भिडन्त हुने निश्चितप्राय देखिएकोे छ । नगरभित्रका ६० हजार ४६ मतदाताले कुन दलमा विश्वास गर्ने हुन ? त्यो हेर्न भने वैशाख ३० गते नै पर्खनु पर्ने छ ।
