
पूर्णपुष्टि, ५ असार ।
त्रियुगा नगरपालिकाको बिभिन्न बजारमा रहेका अधिकांश ब्यपारीहरुले ढक तराजुको दर्ता तथा नविकरण गरेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम भएको हो ।
संघका अध्यक्ष रमेश रसाईलीका अनुसार गाईघाट सदरमुकाम तथा आसपासको बजारहरु जलजले, चुहाडे लगायतका ब्यपारीहरुमै पुगी नविकरण र दर्ताको काम गरिएको हो । नापतौल कार्यालय बिराटनगरलाई समन्वय गरी ब्यपारीहरुको घर आगनमै गएर दर्ता नविकरण गराउन संघले पहल गरेको हो ।
ब्यपारीहरुले ढक तराजु किनेको ३५ दिन भित्र नापतौल कार्यालय बिराटनगरमा गएर दर्ता गराई प्रमाण पत्र लिनु पर्ने व्यवस्था छ । यति गरेपछि मात्रै ढक तराजु चलाउन पाउने व्यवस्था रहेको अध्यक्ष रसाईलीको भनाई छ । कार्यालयबाट प्रमाण पत्र लिएर मात्रै ढक तराजु संञ्चालन गर्न पाउने नियम भएपनि ब्यपारीहरु एउटा तराजुका लागि बिराटनगर पुग्न सक्ने अवस्था हुँदैन सोही अवस्थालाई सहज बनाउन संघले पहल गरी गाईघाटमै कार्यालयको कर्मचारी टोली उपलब्ध गराई ब्यपारीहरुलाई सुविधा दिईएको अध्यक्ष रसाईलीको भनाई छ ।

कार्यालयबाट टोली प्रमुख रजनित झाको नेतृत्वमा ४ जना कर्मचारी उदयपुर आएका थिए । १४ ओटै जिल्लाभरीको एक मात्रै कार्यालय भएको हुँदा सिमित कर्मचारी र सिमित समयको बावजुद पनि ब्यपारीहरुलाई सहजताको निम्ति टोली झिकाउन संघ लागि परेको र यसमा सफल भएको अध्यक्ष रसाईलीले बताए ।
अध्यक्ष रसाईलीले ढक तराजु नापतौल र दर्ताले उपभोक्ताहरुलाई ठगी बाट बचाउन सकिने हुँदा यसलाई नियमित रुपमा मापदण्ड अनुसार नाँपजाँच र दर्ता नविकरण गर्नु पर्ने जनाए । सरकारी मापदण्ड अनुरुप सुनचाँदी पसलको ढक तराजु १/१ बर्षमा र अन्य ढक तराजु भने २/२ बर्षमा गर्नु पर्ने नियम छ । सोही अनुरुप ब्यपारीहरुले काम नगरेको पाईने हुँदा उपोक्ताहरुलाई ठगिनबाट जोगाउन दर्ता तथा नविकरणको आवश्यक हुन्छ । त्रियुगामा साना तथा ठुला सबैखाले ब्यपारीहरुलाई नापतौल कार्यालयले दर्ता तथा नविकरण गरी प्रमाण पत्र उपलब्ध गराएको छ ।
त्रियुगामा सके सँगै टोलीलाई मंगलबार संघकै सहयोग तथा समन्वयमा बेल्टार बजार लगिने छ । त्यस ठाउँमा पनि साना तथा ठुला सबैखाले ब्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण गरी प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।

