Sunday, April 26News That Matters

थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २१ गते ।

नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनकुटाको १ जना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको तिरहुतका १ जना, ताप्लेजुङको शान्ति गाउँपालिकाका ३ जना, झापाको बुद्धशान्तिका १ जना, पाँचथर हिलेहाङका १ जना र सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा भएको परीक्षणमा पर्साको विन्ध्यवासिनी, कालिकामाई, सखुवा पर्सौनीका ७ जना, सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नौमुलेका १ जना र सल्यानको कुमाखका २ जनामा संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मोरङ, झापा, सुनसरी र तेह्रथुमका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र डोटीका ५ जना संक्रमित थपिएका छन् । रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी र शुद्धोधनका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जनकपुरमा गरीएको परीक्षणमा महोत्तरी मतिहानीका ९ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना संक्रमित पुष्टि भएको छ । उनीहरु दैलेखको दुल्लू र नारायण नगरपालिकाका ६ जना र कालीकोटको पलाताका सात जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । दाङको बङ्गलाचुली र राजपुरका ५ जना, प्युठान माण्डवीका २ जना र सल्यान कपुरकोटका १ जनामा कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ४२ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये धुनषाका १ जना, कपिलवस्तुका २ जना, काठमाण्डौका ३ जना, नवलपरासीको पाल्हिनन्दन र बर्दघाटका गरी ८ जना, रौतहटका ११ जना, रुपन्देहीको मायादेवीका १ जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकको इन्द्रवतीका १ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालका ६४ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । उक्त संक्रमित मध्ये २ सय ७८ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको जनाईएको छ ।