
पूर्णपुष्टि/उदयपुर, भदौ ३१ ।
दशै नजिकिएको छ । लगत्तै तिहार पनि आउछ । चाँडबाडको बेला यातायात क्षेत्रबाट सर्बसाधारणले सास्ती खेप्ने, चर्को भाडामा पिल्सने र ठगीसमेतमा पर्ने गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाट, मुख्या ब्यापारिक केन्द्रहरु कटारी, बेल्टार, मुर्कुची लगायतबाट सञ्चालन हुने लामो ताथा छोटो दुरीका, तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात सेवाबाट सास्ती, चर्को भाडा र गठी पर्ने गरेको गुनासो सर्बसाधारणहरुको छ । यतिबेला गाईघाटदेखि खोटाङको दिक्तेल, उदयपुरको पहाडी भेग ताप्ली, लिम्चुङबुङ, रौतामाई, उदयपुरगडी, मैनामैनी जस्ता पहाडी क्षेत्रमा यस्तो समस्या छ ।
चाँड मनाउन परदेशबाट घर आउनेको चाँप बढ्दो हुने र उनीहरुबाट सक्दो धेरै पैसा कमाउने दाउमा यातायात ब्यवसायीहरुले यस्तो गर्ने गरेका हुन् । विशेष गरी पहाडी क्षेत्रका यात्रुहरु अझ बढि प्रताडित हुने गरेको पाइएको छ । यो बेला भाडा पनि दोब्बर भन्दा बढि, क्षमता भन्दा अत्याधिक बढी यात्रु राख्नाले सिटमा बस्न नपाउने, छतमासमेत खचाखच बोकिदिने, टिकट नदिने गरिएको छ । पहाडी क्षेत्रमा निजी गाडी, ढुवानीका गाडीसमेतलाई भाडाको जस्तो चलाइदिने गरेको पाइन्छ । एकातर्फ पहाडी कच्ची, अप्ठेरो सडकको यात्रा हुन्छ भने अर्कोतिर यात्रुलाई ब्यवसायको नाममा चर्को भाडा असुल्ने, जोखिमपूर्ण र कष्टपूर्ण यात्रा गराउने गरेको गुनासो आउने गरेको छ ।
दशैं नजिकिएको अवस्था छ तर, स्थानीय प्रशासन, नियमन निकाय यातायात ब्यवस्था कार्यालय, ट्राफिक प्रहरी र यातायात ब्यवसायीहरुले यस कुरालाई सम्बोधन गरेको छैन । अव दशैं आउन दुई हप्ता पनि बाँकी छैन । असोज १३ गते फुलपातीदेखि त दशैं घरभित्रै पसिसकेको हुनेछ ।
दशैंको बेला ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गर्ने गरेको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक प्रविण कार्कीले जेनजी आन्दोलन पछि सडकमा निस्कीसकेको अवस्था नरहेकोले तालुक अड्डाको अव आउने निर्देशन बमोजिम गरिदने बताउनु भयो । यातायात ब्यवसायी संघ, संगठनहरुले पनि यात्रुहरुको हितमा काम गर्ने बताउने गरेका छन् । तर उदयपुरमा हालसम्म त्यस किसिमको तयारी देखिएको छैन । भर्खरै जनजी समुहको आन्दोलनले स्थानीय प्रशासन शान्ति सुरक्षा र अन्य ब्यवस्थामा लाग्नु परेको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति मत्थर हुदै गएकाले अव चाँडबाट केन्द्रित तयारीमा लाग्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो ।
उदयपुर हिमाली यातायात ब्यवसायी केन्द्रका सदस्य तथा दुर्घटना समितिका सहसंयोजक मेम विश्वकर्माले यात्रुहरुले पाउने सास्ती, चर्को भाडा र ठगी जस्ता घटनाप्रति संघमा आवद्ध ब्यवसायीहरु सचेत रहेको बताउनुभयो । कतिपय निजि तथा ढुवानीका सवारी साधन सञ्चालन गर्नेहरुबाट बढि जसो त्यस्तो भइरहेको पाइएको छ । नियमन विना मनपरि चलिदिने, मनपरी भाडा असुल गरिदिने, आधिकारिक टिकट काउन्टर र आधिकारिक सम्पर्क ब्यक्ति विनै सञ्चालन गरिदिने गरेको पाइएको छ । त्यस्ता सवारी साधन दुर्घटना परेमा वा अन्य क्षती भएमा यात्रुको जीवन जोखिमपूर्ण हुनेमात्र हैन क्षतिपूर्ती र उपचार दावीमा समेत समस्या पर्ने हुन्छ । त्यस्ता सवारी साधन अधिकांश ट्राफिक नियम वितरित स्वरुप परिवर्तन गरि टुह्विल लाई फोरह्विल पारिएको, भाँचिएको चेसिस जोडेर चलाएको, सिट थप गरेर चलाएकासमेत हुन्छन् । त्यस्ता सवारीसाधनमा बढी दुर्घटनाको जोखिम हुन्छ । त्यस्ता सवारीसाधनले यात्रुहरुलाई बीच बाटैमा विग्रेर अलपत्र पारेर छाडेको पनि गुनासो आउने गरेको छ ।
सम्बन्धीत निकायको नियमतमा कमजोरी देखिने गरेको छ । नियम विपरितका सवारी साधन बन्द गराउन र मनपरी भाडा असुल गर्ने, नियमि वितरित सवारी चलाउने ब्यवसायीलाई यातायात कार्यालय र ट्राफिक प्रहरीले कडाइका साथ कारवाही गर्नुपर्ने देखिन्छ । अनुगमन र नियमनमा कडाइ नगरिदा यातायात ब्यवसायी को आधिकारिक को अबैंधानिक यात्रुहरुले छुट्याउन सक्ने अवस्था छैन । ब्यवसायीहरुले ब्यवसायको नाममा यात्रुहरुलाई बजारमा तानातान, लुछाचुडी, होडबाजी गरेरसमेत हैरान पार्ने गरेका छन् । यसले बजारलाई अस्तब्यस्तसमेत बनाउने गरेको पाइएकोछ ।
यतिबेला यातायात ब्यवसायी संघ, संगठनहरु सक्रिय भइ यातायात ब्यवसायको मर्ममा रहेर यात्रुको हितमा काम गर्नुपर्ने आवश्यकता छ । चाँडबाडको बेला हुनसक्ने सबैखाले समस्या, लापरवाही जस्ता कुरालाई मध्येनजर प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर अनुगमनको कार्य गरिने यातायात सेवा कार्यालय गाईघाटका प्रमुख बेनीबहादुर कार्कीले बताउनुभयो ।
उदयपुर हिमाली यातायात ब्यवसायी केन्द्रका अध्यक्ष ओमभक्त मैनालीले चाँडबाडको बेला यात्रुलाई प्रभावकारी सेवा दिनेप्रति प्रतिबद्ध रहेको बताउनुभयो । आप्mनो संस्थामा आवद्ध ब्यवसायीहरुबाट यात्रुहित र नियम विपरित कार्य हुन नदिने कुराको जिम्मा लिने तर आप्mनो हिसावले बाहिरबाट सञ्चालन हुने सवारी साधन र ब्यवसायीहरुको नियमत सम्बन्धीत निकायले गर्नुपर्ने उहाँले बताउनुभयो । यातायात क्षेत्रमा पुरानो अनुभवी संस्थाको नाताले सबै सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी थप प्रभावकारी भुमिका खेलिने उहाँले बताउनुभयो ।
