Saturday, June 6News That Matters

दशौं राष्ट्रिय खेलकुदको १०० दिने काउन्टडाउन सुरु

पूर्णपुष्टि, साउन २७ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अघि बढेको छ। आगामी मंसिर २ देखि ९ गतेसम्म हुने यस प्रतियोगिताको सय दिने काउन्टडाउन शनिबारदेखि सुरु भएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट प्रस्ताव गरेको छ। प्रस्तावित लोगोमा सात प्रदेशका खेलाडी, डाँफे चरा, नेपालको झण्डा र कर्णाली नदी समावेश छन्। मस्कटको रूपमा कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डालाई प्रस्ताव गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने प्रतिबद्धता जनाए। साथै, कर्णाली खेल गीत पनि सार्वजनिक गरियो।

परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले प्रतियोगिताको तयारीमा पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइएको बताए। मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको र बाँकी काम असोजसम्म पूरा हुने उनले जानकारी दिए।

कर्णाली प्रदेशले २४ खेल समावेश गर्ने प्रस्ताव गरेको छ, जुन नवौं राष्ट्रिय खेलकुदमा समावेश भएका ३६ खेलभन्दा कम हो। बसोबास व्यवस्थापनका लागि उद्घाटनभन्दा ६ दिन अगाडिदेखि नै खेलहरू सुरु गर्ने योजना रहेको छ।