Saturday, May 16News That Matters

दिल्ली उच्च अदालतमा भारतिय फिल्म ‘आदिपुरुष’ विरुद्ध हिन्दु सेनाले मुद्धा लगायो

पूर्णपुष्टि, असार २ । भारतिय बलिउड फिल्म ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा हिन्दु सेनाले रिट दायर गरेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दु सेनाले अदालतमा मुद्धा दर्ता गरेको हो । यस याचिकामा हिन्दु सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।

‘आदिपुरुष’ विरुद्ध जनहित याचिका दायर गरेको हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दिएको रिटमा भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन । त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्ने र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्ने उनिहरुको माग छ । लेखक महर्षि वाल्मीकिले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई वर्णन गरिएको जसरी फिल्ममा नदेखाई गलत रूपमा व्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाइएको र सुनको दरबारमा बस्ने रावणलाई अजिङ्गरको घेरामा बसेको देखाइएको छ भने राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्यापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

हिन्दु महाकाव्य रामायणमा आधारित फिल्ममा प्रभासले ‘भगवान राम’ को भुमिका निभाएका छन् भने कृति सेनन ‘सीता’ को भुमिकामा रहेकी छन् । ‘लक्षमण’ को भुमिकामा सन्नी सिंह रहेको छ भने ‘रावण’ को भुमिकामा सैफ अली खान छ । निर्देशक ओम राउतको यस फिल्मको ट्रेलर सार्वजनिक भएदेखी नै विवादमा तानिएको थियो । फिल्म विवादित बनेपछि निर्माताले धेरै सिन हटाउनु परेको थियो । यस फिल्मको ट्रेलरमा जानकी भारतीय छोरी हुन् भन्ने संवादले नेपालमा समेत विवादीत बनेको थियो । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले उक्त संवाद नहटाए सम्म फिल्मको प्रदर्शनमा रोक लगाएको थियो भने सेन्सर वोर्डले सो संवाद हटाएपछि नेपालमा प्रदर्शन गरिएको थियो ।