
पूर्णपुष्टि, असोज ५ गते । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीमा सिटी सफारीको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारी रहेका छन् ।
सुनसरीको ईटहरी–९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका भण्डारीलाई ठक्कर दिंदा घाईते भएका थिए । भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ ।
यसैगरी झापामा कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा–५ का ४४ बर्षीय बलराम यादव र ईटहरी–१० की ३० बर्षीया गिता चौधरी रहेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नंम्बरको कार अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका चालक र चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ भने सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
