
पूर्णपुष्टि, फागुन ९ गते । दुधमा प्रतिलिटर १० रुपैँया बढाउने सरकारले तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध उत्पादनको लागतमा वृद्धि भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव राखेका थिए । बोर्डको प्रस्तावपछि मुल्य बढाउने सरकारले तयारी गरेको हो ।
गएको फागुन २ मा बोर्डले मन्त्रालयमा मुल्य विश्लेषणको प्रतिवेदन पेश गरेको थियो । बोर्डका अनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको हो । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले बताए ।
किसान बचाउनका लागी १० रुपैँया सम्म मुल्य वृद्धी गर्नुपर्ने उनले बताए । चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य वृद्धी गर्नैपर्ने देखियो । गएको वर्षको माघमा सरकारले सबै प्रकारका दुधमा प्रतिलिटरको मूल्य ९ देखी १४ रुपैँयासम्मले बढाएको थियो ।
